नियम
अध्ययन भिसा
(१) नेपाल सरकारको स्वीकृति प्राप्त गरी नेपालको कुनै शिक्षण संस्थामा अध्ययन, अध्यापन वा अनुसन्धान गर्न आउने विदेशीहरू, तिनका परिवारलाई अध्ययन भिसा दिइने छ ।

(२) नेपाल सरकारबाट प्राप्त छात्रबृत्ति अन्तर्गत वा नेपाल सरकारबाट स्वीकृत कार्यक्रम अन्र्तगत वा दुई विश्वविद्यालय बीच भएको सम्झौता अन्तर्गत अध्ययन तथा अनुसन्धान गर्न आउने वा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरुबाट अध्ययन गर्न आउने विदेशी वा माध्यमिक तहसम्मको अध्ययन गर्न आउने विदेशी बाहेक आफू खुशी अध्ययन तथा अनुसन्धान गर्न चाहने अन्य विदेशीलाई नेपालमा रहँदा एकै पटक वा मासिक दामासाहीमा वार्षिक न्यूनतम तीन हजार अमेरिकी डलर वा सो बराबरको नेपाली मुद्रा र निजका परिवारको हकमा वार्षिक न्यूनतम दुई हजार अमेरिकी डलर वा सो वरावरको नेपाली मुद्रा खर्च गर्न सक्ने आधिकारिक स्रोत वा सो वरावरको वैदेशिक मुद्राको सटही रसिद वा सो बराबरको नेपाली मुद्रा स्थानीय वैंकमा मौज्दात रहेको कागजात पेश गरेको आधारमा मात्र अध्ययन भिसा दिइनेछ ।
(३) अध्ययन भिसा एक पटकमा एक वर्षको लागि दिइनेछ । सो भन्दा बढी अवधिको लागि दिन परेमा त्यस्ता व्यक्तिको अध्ययन तथा अनुसन्धान प्रगति विवरण तथा क्रियाकलाप लगायत अन्य आवश्यक कुराहरूलाई समेत विचार गरी म्याद थप गर्न सकिनेछ ।
तर अनुसन्धानकर्ता र अध्ययनकर्ताको हकमा यस्तो म्याद थप अनुसन्धान अवधि वा अध्ययनरत शैक्षिक उपाधी अवधिसम्मका लागि मात्र हुनेछ ।
(३क.) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राविधिक विषयमा अध्ययन गर्नेहरुको हकमा सम्बन्धित विषयमा शैक्षिक उपाधि अबधिसम्मको लागि एकैपटक अध्ययन भिसा दिन सकिनेछ ।
(४) अध्ययन भिसाको लागि सम्बन्धित मन्त्रालयको सिफारिस पेश गर्नु पर्नेछ ।
(५) अध्ययन भिसाको लागि अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।